Rule 46
कार्ययोजना तर्जुमा र वन हस्तान्तरण
(१) नियम ४२ को उपनियम (७) बमोजिम दर्ता भएको सामुदायिक वन उपभोक्ता समूहले ऐनको दफा १८ को उपदफा (१) बमोजिम राष्ट्रिय वनको कुनै भागलाई सामुदायिक वनको रुपमा व्यवस्थापन गर्न चाहेमा कार्ययोजना तयारीका लागि प्राविधिक सहयोग तथा सामुदायिक वन हस्तान्तरणका लागि अनुसूची-२३ बमोजिमको ढाँचामा डिभिजनल वन अधिकृत समक्ष निवेदन दिनु पर्नेछ।

(२) उपनियम (१) बमोजिम निवेदन परेमा डिभिजनल वन अधिकृतले ऐन र यस नियमावली बमोजिम सामुदायिक वनको कार्ययोजना तयार गर्न प्राविधिक कर्मचारी खटाई सम्बन्धित सामुदायिक वन उपभोक्ता समूहलाई आवश्यक प्राविधिक तथा अन्य सहयोग उपलब्ध गराउनु पर्नेछ।

(३) यस नियम बमोजिम सामुदायिक वनको रुपमा हस्तान्तरणका लागि वनक्षेत्र निर्धारण गर्दा गाउँ बस्तीबाट सामुदायिक वनक्षेत्रको दुरीका साथै सामुदायिक वन: उपभोक्ता समूहको वन व्यवस्थापन गर्ने चाहना, आवश्यकता र क्षमता समेतलाई ध्यान दिनु पर्नेछ।

(४) यस नियम बमोजिम सामुदायिक वनको सीमाना निर्धारण गर्दा वडा, गाउँपालिका, नगरपालिका, जिल्ला वा प्रदेशको भौगोलिक सीमानाले कुनै असर पार्ने छैन।

(५) सामुदायिक वन उपभोक्ता समूहले सामुदायिक वनको कार्ययोजना तयार गर्दा स्थानीय तहसँग परामर्श गर्नु पर्नेछ।

(६) सामुदायिक वन उपभोक्ता समूहले ऐन र यस नियमावली बमोजिमका कार्य गर्नका लागि सम्बन्धित निकाय, सङ्घ संस्था, वन प्राविधिक वा योग्यता प्राप्त सेवा प्रदायकबाट आवश्यक सहयोग लिन सक्नेछ।

(७) सामुदायिक वन उपभोक्ता समूहले सामुदायिक वनमा दिगो वन व्यवस्थापनको मापदण्ड र उद्देश्य, वनको हैसियत र त्यस्तो उपभोक्ता समूहको आवश्यकता र व्यवस्थापकीय क्षमता समेतलाई ध्यान दिई साधारण सभाको सहमति र निर्णयबाट छनोट भएका दिगो वन व्यवस्थापनका क्रियाकलाप आफ्नो कार्ययोजनामा समावेश गर्नु पर्नेछ।

(८) सामुदायिक वनको कार्ययोजना तयारी गर्दा सहभागितामूलक विधि अवलम्बन गर्नु पर्नेछ र त्यस्तो कार्ययोजना सामुदायिक वन उपभोक्ता समूहको साधारणसभाबाट निर्णय भई पारित भएको हुनु पर्नेछ।

(९) सामुदायिक वन उपभोक्ता समूहले अनुसूची-२४ मा उल्लिखित विषय समावेश गरी सामुदायिक वनको कार्ययोजना तयार गरी स्वीकृतिको लागि डिभिजनल वन अधिकृत समक्ष पेस गर्नु पर्नेछ।

(१०) उपनियम (९) बमोजिम स्वीकृतिको लागि पेस हुन आएको सामुदायिक वनको कार्ययोजनामा .डिभिजनल वन अधिकृतले अध्ययन गर्दा कुनै कुरा सुधार गर्नु पर्ने देखेमा सामुदायिक वन उपभोक्ता समूहसँगको परामर्श र सहमतिमा सुधार गरी ऐन र यस नियमावलीमा उल्लिखित व्यवस्था र नेपाल सरकारले तोकेका सर्तको पालना गर्ने गरी कार्ययोजना स्वीकृत गरी अनुसूची-२५ बमोजिमको ढाँचामा सामुदायिक वन हस्तान्तरणको प्रमाणपत्र दिनु पर्नेछ।

(११) एउटा जिल्लामा रहेको कुनै वनक्षेत्र सीमाना जोडिएको अर्को जिल्लाको कुनै सामुदायिक वन उपभोक्ता समूहलाई सामुदायिक वनको रुपमा हस्तान्तरण गर्नु पर्ने भएमा वनक्षेत्र रहेको जिल्लाको डिभिजनल वन अधिकृतले त्यस्तो सामुदायिक वन उपभोक्ता समूह अवस्थित रहेको डिभिजनल वन अधिकृतको सिफारिसमा - सामुदायिक वन हस्तान्तरण गर्न सक्नेछ।

(१२) उपनियम (१०) बमोजिम स्वीकृत भएको कार्ययोजनाको कार्यान्वयन सामुदायिक वन उपभोक्ता समूहले गर्नेछ।

(१३) सामुदायिक वनको कार्ययोजनाको अवधि बढीमा दश वर्षको हुनेछ। सामुदायिक वन उपभोक्ता समूहले प्रत्येक दश वर्षमा वा सो अगावै ऐनको दफा १८ को उपदफा (५) बमोजिम हुने गरी कार्ययोजनामा आवश्यकता अनुसार संशोधन गर्न सक्नेछ। तर ऐनको दफा ४२ को प्रयोजनका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्नु पर्ने अवस्थामा बाहेक सामुदायिक वनको कार्ययोजना स्वीकृत भएको मितिले दुई वर्षसम्म संशोधन गर्न पाइने छैन।

(१४) सामुदायिक वन उपभौक्ता समूहले कार्ययोजनाको अवधि सकिनु अगावै नयाँ कार्ययोजना तयार गरी यस नियम बमोजिम स्वीकृत गराई पुरानो कार्ययोजनाको अवधि सकिएको दिनदेखि नयाँ कार्ययोजना कार्यान्वयनमा ल्याउनु पर्नेछ ।

(१५) डिभिजनल वन अधिकृत वा निजले खटाएको वन प्राविधिक कर्मचारीले आफ्नो कार्य क्षेत्रभित्रको सामुदायिक वनको निरीक्षण, अनुगमन तथा मूल्याङ्कन गरी डिभिजन वन कार्यालयमा प्रतिवेदन पेस गर्नु पर्नेछ।